काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनमाथि गम्भीर आरोप लगाएको छ ।अमेरिकाले चीनमाथि परमाणु क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्ने आफ्नो क्षमता वृद्धि गरिरहेको आरोप लगाएको हो ।
अमेरिकी वैज्ञानिकहरूले भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्विरले त्यहाँ परमाणु क्षेप्यास्त्रका लागि आवश्यक संरचना बन्दै गरेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उक्त तस्विर आएपछि सबैको होस उडेको बताइएको छ । अमेरिकी रक्षा अधिकारीले चीनको परमाणु क्षमता अभिवृद्धिप्रति चिन्ता व्यक्त गरेका हुन् ।चीनको पश्चिममा गत दुई महिनामा निर्माणाधीन देखिएको दोस्रो परमाणु क्षेप्यास्त्र क्षेत्र भएको बताइएको छ ।
निर्माणाधीन क्षेत्रमा ११० भूमिगत क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण स्थल रहेको बताइएको छ । गत महिना अमेरिकी अखबार वाशिङ्टन पोस्टले गान्सु प्रान्तको युमेनको मरुभूमिको एउटा क्षेत्रमा त्यस्तो १२० क्षेप्यास्त्र भण्डारण स्थल देखिएको समाचार प्रकाशित गरेको थियो ।
एफएएसले सोमबारको प्रतिवेदनमा नयाँ क्षेत्र युमेनभन्दा ३८० किलोमिटर उत्तर–पश्चिमको हामिमा रहेको र त्यहाँ भर्खरै निर्माण सुरु गरिएको जनाएको छ ।
सन् २०२० मा अमेरिकी रक्षा मन्त्रालयले चीनले आफ्नो परमाणु क्षेप्यास्त्र दोब्बर बनाउन लागेको जानकारी दिएको थियो ।अमेरिकी रक्षा मन्त्रालयको एउटा विभागले एफएएसको प्रतिवेदनबारे चिन्ता व्यक्त गरेको छ ।
सन् २०२० मा चीनमा २०० भन्दा बढी परमाणु क्षेप्यास्त्रहरू भएको अनुमान गरिएको थियो ।चीनले त्यसलाई दोब्बर बनाउन खोजेको अमेरिकाको आरोप छ । अमेरिकामा त्यस्ता ३,८०० क्षेप्यास्त्र रहेको बताइन्छ ।