Monday , January 24 2022
Breaking News
Home / समाचार / यसकारण बिरामीलाई विमानस्थलबाटै फर्काइयो, कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गर्दा पनि टिकट पाईएन

यसकारण बिरामीलाई विमानस्थलबाटै फर्काइयो, कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गर्दा पनि टिकट पाईएन

यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले रेफर गरेको कागज देखाउँदै गुठीचौर गाउँपालिकाका रिमाल पाण्डे विमानस्थल पुग्नुभयो । उहाँको तीन महिनाको छोरा रिवानलाई एक्कासि श्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा उपचारत थिए । अस्पतालले नर्मल श्वासप्रश्वासको दर ५० देखि ६० हुनुपर्ने भए पनि घटेर ३६ मा पुगेपछि थप उपचारका लागि शनिबार नै रेफर गरेको थियो । निकै गम्भीर प्रकृतिको बिरामी छोरा लिएर उहाँ विमानस्थल पुग्नुभएको थियो । हवाई टिकटका लागि एयरलाइन्सका कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गर्नुभयो तर उहाँले टिकट पाउनुभएन ।

विमानस्थल जानुअघि उहाँले पटकपटक फोन गर्नुभएको थियो । उहाँले देखाएको रेफर कागजको विमानस्थलले सुनुवाइ गरेन । उहाँ छोरा लिएर घर फर्किनुभयो । उहाँले भन्नुभयोे, “समयमै रेफर गरिएको अस्पतालमा लिएको भए छोरा निको हुने आश गरेको थिए । विमानस्थलमा देखिएको मनपरीले बिरामी छोरो बोकेर घर फर्किन बाध्य भए । दुई दिनअघिदेखि टिकटका लागि पहल थालेको थिएँ । एयरलाइन्स र एजेन्सीका मान्छेलाई फोन गरेको थिएँ । छोराको अवस्था जटिल हुँदै टिकटका लागि पहल गरेको थिएँ तर टिकट पाउन सकिनँ । अन्ततः बिरामी छोरो बोकेर घर फर्किंए ।”

एयरलाइन्सका कर्मचारी र एजेन्सीका मान्छेले तीन दिनअघि देखि सिट प्याक भइसकेको जनाउँदै उहाँलाई फर्काइदिएका थिए । बिरामीले जहाजमा उड्न नपाउनु विडम्बना हो । उहाँले भन्नुभयो, “हामी अफ्ठयारो गाह्रो पर्दा हारगुहार माग्छौँ । टिकट पाउँदैनौँ । हवाई सेवा पहुँचवालाको मात्र होइन ।”

दुई दिनअघि जुम्ला विमानस्थलमा भएको सर्वपक्षीय बैठकले बिरामीलाई पहिलो प्राथमिकतामा राखेर टिकट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको थियो । कुनै पनि बिरामी जहाजमा जान पाउनुपर्ने जनाउँदै बिरामीको विकल्प अरू हुन नसक्ने बैठकको निष्कर्ष थियो ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बिरामीले टिकट नपाउनु सुखद पक्ष नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “जुनसुकै एयर कम्पनीले बिरामीलाई मध्यनजर गर्दै पहिलो प्राथमिकता दिनुपर्छ । अनि मात्र जहाज कम्पनीले सेवा दिएको अनुभूति हुनेछ ।” उहाँले दुःखी बिरामीका लागि कर्णालीको हवाई सेवा आकाशको फल आँखा तरी मर जस्तै भएको बताउनुभयो ।

विमानस्थलमा भएको भद्रगोलको बारेमा जति निर्णय र छलफल भए पनि इटिकटको व्यवस्था नभएसम्म नरोकिने उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले हवाई सेवामा रेफर भएका बिरामीलाई पहिलो प्राथमिकता दिन निर्देश गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धेरै दिनदेखि बिरामी होल्डमा थिए । अक्सिजन सिलिन्डर सिलिन्डर अभावले रोकिएका पातारासीका एक बिरामीलाई सोमबार पठाइएको थियो । अन्य बिरामीलाई जटिलता हेरेर प्राथमिकता दिइन्छ । सबैले समान रुपमा हवाई सेवा पाउनुपर्छ ।” बिरामीलाई टिकट मिलाउन पहल गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । यहाँ तारा, सीता र समिट एयरका जहाज चल्ने गरेका छन् ।

About admin

Check Also

बिल गेट्सको दावी : खोपले महिलामा बाँझोपन ल्याउने छ

भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *