काठमाडौँ : सल्यानमा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। ज्यान गुमाउनेमध्ये नाैजनाको शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने तीनजनाको श्रीनगरमा राखिएको छ। ज्यान गुमाउनेमा सल्यान जिल्ला शारदा नगरपालिका– १२ हाल तुलसीपुर– ६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका– २ बस्ने ६१ वर्षीया मीना डाँगी, शारदा नगरपालिका– ३ बस्ने ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी– १ काभ्राकी २४ वर्षीया मीना शाही, बबई गाउँपालिका– ४ दाङ बस्ने ६० वर्षीया डुली रेउले, बबई गाउँपालिका– ६ पञ्चकुलेकी ७० वर्षीया कलावली बुढाथोकी, घोराही नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, छत्रेश्वरी– २ का २९ वर्षीय तिलक वली रहेका छन्। मृतक अन्य चारजनाको सनाखत भएको छैन।
यस्तै घटनामा घाइते भएकामध्ये गम्भीर तीनजनालाई हेलिकोप्टरमार्फत कोहलपुर लगिएको छ। अन्य केही घाइतेहरूलाई पनि थप उपचारका लागि हेलिकोप्टरबाट बाहिर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले बताइन्। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको ना.२ख २५५२ नम्बरको दुर्घटनामा परेको बस सडकबाट दुई सय मिटर तल खसेको बताए। बसमा ३६ जना यात्रु रहेको बताइएको छ। सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरका लागि छुटेको आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोलानजिकै दुर्घटनामा परेको हो।
घाइतेहरूको तुलसीपुर, सल्यानको श्रीनगर र जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ। अस्पतालमा ठाउँ अभावका कारण उपचारमा समस्या भएको छ। घाइतेमध्ये सानपा– २ की २६ वर्षीय सिजन खान, भरतपुर दाङकी तीन वर्षीया रोजी वली, सानपा– २ का ४९ वर्षीय टोपेन्द्र वली, तुलसीपुरकी २१ वर्षीया रूक्मिना घर्ती, तुलसीपुरका २१ वर्षीय भुवन डाँगी, सानपा– २ का २६ वर्षीय रविनकुमार खान, हापुरे दाङकी २१ वर्षीया तिला वली, तुलसीपुर वेलवाका २१ वर्षीय विषण डाँगी, फलावाङकी २९ वर्षीया हिराकुमारी बाेहरा र लुहामका २१ वर्षीय पोषण गिरीको परिचय खुलेको छ। उनीहरूको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।