२८ कात्तिक, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले अनलाइनमार्फत् लाखौं ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम जिल्ला रन्मामैमकोट गापा-३ घर भइ हाल काठमाडौँ नेपालटार बस्ने २३ बर्षीय विकाश गुरुङ रहेका छन् । गुरुङलाई शुक्रबार महाशाखाबाट खटिएको प्रहरीको टोलीले काठमाडौँकै गैरीधाराबाट पक्राउ गरेको हो ।
महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका विकासले सामाजिक संजाल ‘व्हाट्स एप’को प्रयोगमार्फत् विभिन्न व्यक्तिहरुलाई चिठ्ठा परेको छ, विदेशबाट सामान/ पार्सल आएको छ र सो सामान भुक्तानीका लागि कर तिर्नुपर्ने भन्दै रकमको माग गर्दै ठगी गर्ने गरेका थिए।
उनले उक्त ठगीको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई पैसा असुल्ने गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको एसपी कोइरालाले बताए ।
पक्राउ परेका गुरुङको साथबाट प्रहरीले उन्नाईस लाख साठ्ठी हजार समेत बरामद गरेको जनाएको छ। उनलाई थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर टेकु पठाइएको एसपी कोइरालाले बताए।
यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु (कस्तुरी)को छाला (आखेटोपहार)सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर जिल्ला महांकाल गाउँपालिका वडा नं.५ चन्दनपुर घर भइ काठमाडौँ बस्ने २८ बर्षीय दिपेश तिमल्सिना रहेका छन्।
सीआईबीका एसपी श्याम कुमार महतोका अनुसार तिमल्सिनालाई गत शुक्रबार वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले बल्खुबाट पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा खटिएको सीआईबीको टोलीले उनको साथबाट संरक्षित वन्यजन्तुको जस्तो देखिने छाला (आखेटोपहार) समेत बरामद गरेको एसपी महतोले बताए।
पक्राउ परेका तिमल्सिनालाई वरामद आखेटोपहारसहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौँमा बुझाईएको सीआईबीले जनाएको छ।