नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ ।
महाधिवेशन लक्षित पूर्वाधार निर्माण र प्रचारप्रसारसँगै सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ । महाधिवेशन उद्घाटनका दिन लाखौँ जनता सहभागी हुने भएकाले सुरक्षा र ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखिन्छ । महाधिवेशनमा सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीको कमाण्डमा प्रहरी खटिँदै छन् ।
नेकपा एमालेको दशौँ महाधिवेशनका कारण चितवनको होटल क्षेत्रमा रौनक थपिएको छ । एमालेले नारायणगढको नारायणी नदी किनारमा उद्घाटन र सौराहामा बन्द सत्रको कार्यक्रम राखेको छ । महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म भए पनि चितवनका लगभग सबैजसो होटल मङ्सिर ९ देखि १३ गतेसम्मकै लागि बुकिङ भइसकेका छन् ।
महामारीका कारण दुई वर्षसम्म सुनसान रहेको मुख्य पर्यटकीय क्षेत्र यति बेला जुरमुराएको छ । केही समय पहिलेसम्म होटल बुकिङ नभएर हैरान भएका व्यवसायी अहिले होटलमा बेड नपुगेर त’नावमा छन् । सौराहासहित भरतपुर र नारायणगढ क्षेत्रका सबैजसो होटल एमालेको महाधिवेशनकै लागि बुकिङ भइसकेका छन् ।
सौराहामा इतिहासमा पहिलो पटक सबै खाले होटलका सबै कोठा बुकिङ भएको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ । जतिसुकै पर्यटक पुगे पनि यसरी एकै पटक सबै होटलका सबै कोठा यसअघि कहिल्यै बुकिङ नभएको सङ्घले जनाएको छ । अहिले भने साना, मझौला र ठूला गरी सबै खाले होटल एमालेका नेता, प्रतिनिधि, पर्यवेक्षक, सञ्चार माध्यमका प्रतिनिधि र कार्यकर्ताले बुकिङ गरेका छन् ।