पोखरा । पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवी सामुदायिक विद्यालय । आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गर्नुभयो । मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको तयारी पनि हुने कुरा पनि भएन
मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सिधै कक्षाकोठामा प्रवेश गरे। माथिल्लो तलामा कक्षा ५ का विद्यार्थीलाई अध्यापन गराउँदै थिए शिक्षिका प्रिति ढकाल । नौलो व्यक्ति कक्षामा प्रवेश गरे लगत्तै सबै विद्यार्थी आफ्नो स्थानबाट उठे ।
विद्यार्थी आफ्नो सिटमा बसेपछि शिक्षामन्त्री पौडेलले विद्यालयमा पढाइका विषयमा विद्यार्थीलाई सोध्नुभयो । गृहकार्य गरे÷नगरेका बारेमा जिज्ञासा राख्नुभयो । सबैले नियमित गृहकार्य गर्ने गरेको, शिक्षक कक्षा समयमा सधँै समयमै उपस्थित हुने गरेको मन्त्री पौडेललाई बताए। मन्त्री पौडेल विद्यार्थीलाई राम्रोसँग पढ्न र गुरुले मानेर अनुशाशित हुन आग्रह गर्दै केही समयमै कक्षाकोठाबाट बाहिरिनुभयो । राम्रो अध्ययन गरेर देशको ठूलो मान्छे बन्न उनले विद्यार्थीलाई भने।
शिक्षा क्षेत्रको प्रमुख नियमनकारी निकाय र सामुदायिक शिक्षा सुधार्ने प्रमुख जिम्मेवारी रहेको शिक्षा मन्त्रालयका मन्त्री पौडेलले आकस्मिक विद्यालय निरीक्षण गर्दा विद्यालयका कसैलाई पूर्वजानकारी दिएनन् ।
मन्त्री पौडेल एक्कासी विद्यालय निरीक्षणमा निस्किँदा र पछि मात्र मन्त्री आएको जानकारी पाएपछि शिक्षक विद्यार्थीले अचम्म माने । शिक्षिका ढकालले भने, ‘शिक्षामन्त्री विद्यालय आउनेबारेमा स्कुलमा कसैलाई पनि जानकारी दिएन । अन्य बेला पनि भिजिटर आउनुहुन्थ्यो, त्यही भएर कोही आउनुभयो होला भन्ने सुरुमा ठानेको थिएँ । शिक्षामन्त्री नै कक्षा कोठामा पाएपछि त अचम्म भयौँ ।’
शिक्षामन्त्री पौडेलले विद्यालयमा जिम्मेवारी पाएका शिक्षक तथा प्रधानाध्यापकबाट ठीक ढङ्गले जिम्मेवारी निर्वाह भए नभएको बुझ्ने र शैक्षिक समस्याका बारेमा सरोकार भएकासँग जानकारी लिनका लागि आकस्मिक विद्यालय निरीक्षण गरिएको बताए।
राजधानी काठमाडौँका केही विद्यालयमा पनि यसअघि यस्तै प्रकृतिको आकस्मिक निरीक्षण गरिएको जानकारी दिँदै उनले भने, ‘शिक्षक कक्षा कोठामा छन् कि छैनन् ? विद्यार्थीले पढेका छन् कि के छन् भनेर आकस्मिक निरीक्षण सुरु गरेका छौँ । यसबाट कमजोरी फेला परेका खण्डमा सम्बन्धित व्यक्ति वा संस्थालाई सुधारका लागि आग्रह गर्ने गरिएको छ