नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८१ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७७ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । समितिका अनुसार देउवाले ४८.२३, कोइरालाले ३६.९३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत ल्याएका छन्। सबैभन्दा बढी मत प्राप्त गर्ने सभापति देउवालाई विजयी हुनका लागि ८१ मत नपुगेको समितिले जनाएको छ ।
समितिका संयोजक गोपालकृष्ण घिमिरेले पुनः मतदानका लागि तयारी भइरहेको र केही बेरमै नयाँ निर्वाचन तालिका प्रकाशन गर्ने बताएका छन् । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।
पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।
कांग्रेस सभापतिका पाँचजना उम्मेदवारमध्ये संस्थापनइतर समूहबाट फुटेका प्रकाशमान सिंहको भूमिका आफ्नो समूहलाई हराउन सहयोगी बनेको छ । संस्थापन पक्षबाट फु’टेका विमलेन्द्र निधिले अपेक्षाकृत मत प्राप्त गर्दा प्रकाशमानको उम्मेदवारी संस्थापनइतर समूहको पहिलो चरणको जितमा बा’धक देखिएको छ ।
नतिजा बाहिरिएसँगै दुबैको ध्यान सभापतिको उम्मेदवार रहेका, तर दोस्रो चरणको मतदानबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधितिर हुनेछ । अब दोस्रो चरणको चुनावमा कसलाई सघाउने भन्ने विषयमा निधि र सिंहबीच मंगलबार बिहान टेलिफोन वार्ता भएको छ । दुई नेताबीच आ–आफ्नो टिमसँग छलफल गरेर मात्र कसलाई सघाउने भन्ने विषयमा निर्णय लिने कुराकानी भएको बताइएको छ । यसअघि प्रकाशमन र निधिले दोस्रो चरणको मतदान भए देउवालाई नसघाउने बताएका थिए ।
सभापति पदकाे नतिजामा शेरबहादुर देउवाले बहमुत पुर्याउन नसकेपछि उनका निकटस्थ नेता बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न चाकस्सीबारी पुगेका छन् । सभापतिका लागि पहिलाे चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर काेइरालाबीच चुनाव हुने भएपछि गृहमन्त्रीसमेत रहेका खाँण सिंहलाई भेट्न पुगेका हुन् । सिंह पनि सभापतिकाे दाैडमा थिए । तर, उनी पहिलाे चरणबाट बाहिरिएका छन् ।
पहिलो चरणमा खसेको कुल ४६८१ मतमध्ये देउवाले २२५८ प्राप्त गर्दा शेखरले १७२९ मत प्राप्त गरे । प्रकाशमानले ३७१ मत प्राप्त गरेका छन् भने विमलेन्द्र निधिले २४९ मत प्राप्त गरेका छन् । यदि दुवैजनाले शेखरलाई समर्थन गरेमा देउवालाई दोस्रो कार्यकाल सभापति बन्न सकस हुनेछ ।
संस्थापनइतर समूहबाट एकैजनामात्र उम्मेदवार थिए भने पहिलो चरणमै जित्न सक्ने देखिएको छ । शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीचमा जति मतान्तर छ, त्यति मत प्रकाशमानले नपाए पनि समूह नफुटेको भए यो मतमा अरु थपिने थियो ।
उता निधिले एक सय मत कटाउन नसक्ने देउवा पक्षको आँकलन भने फेल भएको छ । हुन त विमलेन्द्र निधिले देउवा समूहमा बगावत नगरेका भए संस्थापन पक्षले पहिलो चरणमै जित्ने निधिले पाएको मतले देखाउँछ । तर यसपटक निधिले धेरै अघि नै आफूलाई सभापतिको उम्मेदवारका रुपमा अघि सारेर देउवा समूहबाट अलग्गिएका थिए ।
पहिलो चरणमै जित्न संस्थापन पक्षले सत्ता र शक्तिको सम्पूर्ण प्रयोग गरेको थियो । तर तितरवितर भएको संस्थापनइतर समूहबाट अन्तिममा उम्मेदवार बनेका डा. शेखर कोइरालाले पाएको मत देउवाले सोचेभन्दा बढी भएको एक नेताले बताए । प्रकाशमान नउठेको भए शेखर पहिलो चरणमै जित्नसक्ने रहेछन् भन्ने टिप्पणी समेत भइरहेको छ ।