काठमाडौँ । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
सरकारी जग्गा हडप्न नक्कली मोही खडा गरी किर्ते कागजात तयार पार्ने कसुरमा संलग्न कर्मचारी, बिचौलिया, भूमाफिया र तत्कालीन भोगाधिकारीसहित १२० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।
स्रोतका अनुसार २०४९ सालमा जग्गा हडप्ने कसुरमा संलग्नमध्ये ४० जना फरार सूचीमा छन्। यस्तै, ०६२ मा हिनामिनामा संलग्न भएको कसुरमा १५ जना, बालुवाटारस्थित प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीको निवास विस्तारका नाममा नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिएको कसुरमा ८० जना र २०६९ मा सरकारी जग्गा नक्कली टिकिन्छा गुठीमा कायम गर्ने र त्यसमा नक्कली मोही खडा गर्ने ८५ विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
पुर्जी जारी भएकाको विवरण गोप्य राखिएको छ। तर, उनीहरु सबै भूमाफिया र कर्मचारी मात्रै रहेको स्रोत बताउँछ।
सीआईबीले पुर्जी जारी भएका सबैको खोजी भइरहेको बताएपनि अनुसन्धानको हदम्याद सकिन लागेकाले उनीहरुलाई फरार सूचीमै राखेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। सरकारी वकिलको कार्यालयले पनि पुस २७ भित्रै मुद्दा अदालतमा दर्ता गरिसक्नु पर्ने छ।