ओम्रिकोनको त्रास बढिरहेका बेला देउवा सरकारले गर्यो निर्णय
काठमाडौं, पुस १७ गते । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएसँगै विदेशबाट नेपाल प्रवेशमा कडाइ गरेको सरकारले त्यसलाई सहज बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले कोरोनाको लक्ष्यणसँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा १० दिन घरमै क्वारेन्टाइन बस्नेगरि प्रवेश अनुमति दिने निर्णय गरेको हो
खोपको पूर्णमात्रा लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कूटनितिक वा अफिसियल पासपोर्टबाहक वा आवसिय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थाम घरमै १० दिन क्वारेन्टिन बस्नेगरी प्रवेश अनुमति दिइने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकहरुको भने नेपाल प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ। परीक्षण रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेसनमा पठाउने र नेगेटिभ देखिएकालाई घरमै १० दिन क्वारन्टिनमा बस्नेगरी प्रवेश अनुमति दिने बैठकले निर्णय गरेको छ ।
सरकारले घातक निर्णय गरेको भन्दै चौतर्फी आलोचना सुरु भएको छ भने जनता आक्रोशित बनेका छन् । सामाजिक सञ्जालमा ब्यापक बिरोध सुरु भएको छ । उसाे त कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण नेपालको अन्य देशको तुलनामा कम रहेको विज्ञहरू बताउँछन् । पश्चिममा देशसहित छिमेकी भारतमा समेत यसको संक्रमण बढिरहेका बेला नेपालमा अहिलेसम्म ओमिक्रोनको संक्रमण निकै कम देखिएको जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले बताए ।
उनका अनुसार अन्य देशको तुलनामा नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको परीक्षण गर्दा संक्रमण निकै कम देखिइको छ । नेपालमा हालसम्म ओमिक्रोनको संक्रमण देखिएका तीन जनामध्ये दुई जना संक्रमणमुक्त भइसकेका र एक जनामा अझै संक्रमण देखिरहेको उनले बताए ।
ओमिक्रोन जोखिमयुक्त रहेको संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी बताउँछन् । डा मरासिनी र डा सुवेदीका अनुसार कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्ति पनि ओमिक्रोनको जोखिममा छन् ।
अन्य भेरियन्टको तुलनामा ओमिक्रोन निकै संक्रामक रहेको जानकारी दिएका डा सुवेदीले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना र अस्पतालमा उपचारका लागि पूर्वतयारी गरेर बस्नुपर्ने बताए । ओमिक्रोनको संक्रमण नियन्त्रणका लागि पीसीआर र एन्टिजेनको परीक्षणको दायरा बढाउनेदेखि जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने जनस्वास्थ्यविद् मरासिनीले बताए ।
भारतसहितका देशमा ओमिक्रोनको संक्रमण बढिरहेकाले नेपालमा पनि यसको संक्रमण दर बढ्न सक्ने डा सुवेदी बताउँछन् । संक्रमण हुनुअघि नै सुरक्षित हुनका लागि सभा समारोह, सामाजिक भिडभाड नगरी दूरी कायम गरेर आफ्नो काम गर्न उनले सुझाव दिए