उसो त बनस्थली रत्नपार्क रुटका गाडीहरू त्यति सजिलै पाउन गाह्रो । त्यसमाथि यो रुटका गाडीमा मान्छेको ठेलमठेल र भीडभाड देख्दा गाडी नै चढ्नु नपरे हुन्थ्यो जस्तो लाग्छ ।अब यति भनेपछि तपाईं भन्नुहोला कि हिँडेर गए भैहाल्यो नि !
कुरा ठिकै पनि हो । तर, हामी जस्ता शहरमा बस्नेहरू यति अल्छि भइएछ कि हिँडेर गन्तव्यमा जाने भन्ने कुरा हामीलाई प्रलय नै लाग्छ । चाहे त्यो दश-पन्ध्र मिनेटको बाटो नै किन नहोस् ।
गाँउतिर हो भने घण्टौं हिडेर आफ्नो दैनिक काममा जानेहरू कैयौं छन् । घण्टौं भिर, पाखा, खोला पन्छाउँदै साना नानीबाबुहरू हरेक दिन स्कुल जाने गरेकै छन् । म आफैं पनि गाउँ हुँदा डेढ घण्टाको बाटो हिँडेर ११-१२ पढेकै हुँ । अब दुईचार वर्ष शहर के बसियो हिड्ने भन्ने कुरा चटक्कै बिर्सिएछ क्यार ।
सायद सु:ख सुविधाका भोगी पनि केहि बढि नै भयौं हामी । हामीलाई दश मिनेट हिड्न गाह्रो लाग्छ । छोटो दूरीमा पनि हामी गाडी कुर्छौं । आखिर यी कुदेका गाडी के का लागि भनेर पनि होला ।
बनस्थलीबाट लैनचौरसम्म पुग्नुपर्ने म, बनस्थली चोकमा गाडीको प्रतिक्षामा थिएँ । लामो प्रतिक्षा त भन्दिन करिब १० मिनेटपछि बालाजु यातायात बनस्थली चोकसम्म आइपुग्यो।
म जस्ता कैयौं यात्रु बनस्थलीबाट गाडी चढ्न लामबद्द थिए । एक त आफैंमा भरिएको गाडी त्यसमाथि गाडी चढ्ने यात्रुको अर्को लर्को ,के गर्नु सबै म जस्तै अल्छि न परे । हिड्न भनेपछि फिटिक्कै मन नगर्ने । भनिहालेँ नि सुविधाभोगी ।
गाडीमा एउटा पनि सिट खाली थिएन । यसो हेर्छु त्यहाँ भएका आरक्षण सिटमभध्ये महिला सिटमा बाहेक कुनै पनि सिटमा आरक्षणको पालना भएको थिएन ।
जेष्ठ नागरिकको सिट छेवैमा साठी कटेका बुवा माथिका डन्डी समाएर उभिइरहेका थिए । सिटमा मेरै उमेरका युवतीहरू गफमा मस्त थिए । उनीहरूलाई थाहै थिएन कि छेवैमा एक जना वृद्ध उभिइरहनुभएको छ ।
यत्तिकैमा एकजना अधबैंशे युवाको आवाज सुनियो जेष्ठ नागरिक सिट हो त्यो, छाडिदिनुस त सिटमा बसेकी युवतीले यसो हेरिन् र सिट छाडिदिइन ।
बुढा बुवा सिटमा बस्न पाएको देखेर मलाई खुसी लाग्यो । तर, मनमा खट्किरहेको कुरा भने छेवैमा बुढा बुवा उभिइरहँदा पनि ति युवतीहरूले देखेनन् या नदेखेजस्तो गरे । आखिर ती आँखाहरूले देखेनन् या मनले देखेन । खैर जे होस् ती युवालाई भने धन्यवाद ।
गाडीमा यात्रा गर्दैगर्दा यस्ता कति दृश्यहरू देख्न पाइन्छन जसले सोच्न बाध्य गराउँछ । गाडी ठेलमठेल थियो त्यै पनि सहचालक कराउँदै थिए, ‘ए जमल, रत्नपार्क, आरएनएसी ।’
महिला भन्छिन्- ‘१५ रुपैयाँ हैन र ?’
सहचालक थप्छन्, ‘भाडा बढिसक्यो आन्टी ।’.
महिला केही नबोली पाँच रुपैयाँ बुझाएर आफ्नो बाटो लाग्छिन् ।
मिडियामा काम गर्ने भएकाले म जानकार थिएँ कि बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडा वृद्धि गरेको छ ।
जसअनुसार ५ किलोमिटरसम्मको भाडा १८ रुपैयाँ, १० किलोमिटरसम्मको २३ रुपैयाँ, १५ किलोमिटरसम्मको २७ रुपैयाँ, २० किलोमिटरसम्मको ३० रुपैयाँ र २० किलोमिटरसम्मको ३५ रुपैयाँ पर्न आउँछ ।
तर, यहाँ कति किलोमिटर यात्रा गर्दा कति पैसा भन्ने कुरामा त्यति चासो देखिँदैन । सहचालकले जति पैसा माग्यो उति नै दियो बाटो लाग्यो । रुटको दुरी पाँच किलोमिटर भए पनि सहचालकले हरेकसँग २० रुपैयाँ भाडा उठाउँदै आएका छन् ।
यातायात व्यवसायीहरूको लामो संघर्षपछि सरकारले भाडामा समायोजन त गर्यो । तर, त्यसपछि आउनसक्ने यस्ता कतिपय कुराहरू जो नागरिकको अहितमा छ । त्यस्ता कुरामा भने बेवास्ता गरिएको छ ।
त्यसमाथि राष्ट्र बैङ्कले खुद्रा पैसाको निष्कासनमा कमी गर्दा एकातिर बजारमा खुद्रा पैसाको अभाव त छ नै, अर्कोतिर सरकारले समायोजन गरेको सार्वजनिक सवारीको अमिल्दो भाडादरले यात्रु मर्कामा परेका छन् ।