Wednesday , May 18 2022
Breaking News
Home / समाचार / इजरायल जाने २० प्रतिशत श्रमिक रोकिए

इजरायल जाने २० प्रतिशत श्रमिक रोकिए

कोरोना संक्रमण देखिएपछि बुधबार इजरायल जान तयार भएका मध्ये २८ जना नेपाली रोकिएका छन् । नेपालमा कोरोना संक्रमणदर लगभग ५० प्रतिशत पुगेपछि यसको असर रोजगारीका लागि विदेश जाने श्रमिकमा समेत पर्न थालेको हो ।

इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल प्रस्थान गर्न लागेका १ सय २७ मध्ये २८ श्रमिक संक्रमणका कारण इजरायल जान नपाएका हुन् । वैदेशिक रोजगार विभागका निर्देशक एवं इजरायल रोजगारीका संयोजक श्रीचन्द्र साहले पहिलो चरणमा १ सय २५ भन्दा बढी श्रमिकको उडान तालिका भए पनि केही श्रमिकमा कोरोना संक्रमण देखिएका कारण रोकिएको जानकारी दिए । उनले प्राथमिकताका आधारमा संक्रमणमुक्त भएपछि इजरायल पठाइने बताए ।

विभागले १५ माघ र १८ गते थप १ सय ६२ जनाको उडान गर्ने गरी तयारी गरेको जनाएको छ । दैनिक संक्रमण दर ५० प्रतिशतको हाराहारीमा पुगेको बेलासमेत श्रम गन्तव्यले प्रवेश अनुमति दिएका छन् । ४८ घण्टाअघि गरिने पीसीआर परीक्षणमा ठूलो संख्यामा संक्रमण देखिन थालेपछि खाडीलगायतका अन्य श्रम गन्तव्य जाने तयारीमा रहेका युवासमेत प्रभावित हुने देखिएको छ ।

इजरायल श्रमिक पठाउने जिम्मेवारी पाएको सिलिक ट्राभलका कर्पोरेट निर्देशक जागेन्द्र पौडेलले इजरायल जान तयार भई पीसीआर पोजेटिभ आएका २८ श्रमिकको नेगेटिभ रिपोर्ट आएकोले एक हप्तापछि पुनः टिकट गरेर पहिलो प्राथमिकतामा पठाइने बताए । हाल पोजेटिभ रिपोर्ट आएर आइसोलेसनमा बसेका श्रमिकले घर पायक पर्ने स्वास्थ्य संस्थामा पीसीआर परीक्षण गराएर सोको जानकारी वैदेशिक रोजगार विभागमा दिएपछि बाँकी प्रक्रिया हुनेछ ।

सो जानकारीका आधारमा विभागले उनीहरूको उडान तालिकाबारे निर्णय गर्ने बताएको छ । हालसम्म ३ सय ५ जनाको भिसा जारी भएकोमा बुधबार ९९ जनाको उडान भइसकेको विभागले जनाएको छ । यसैगरी ९ सय ४३ जना युवाले इजरायलका विभिन्न रोजगारदातासँग रोजगार सम्झौता गरिसकेको विभागले जनाएको छ । बाँकी युवाको रोजगार सम्झौता क्रमशः गर्ने विभागले जनाएको छ ।

विगत लामो समय रोकिएर सुरु भएको इजरायलको रोजगारीमा जाने श्रमिकलाई बिदाइ गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत खनान गोडेर विमानस्थल पुग्नुले नेपालबाट नियमित रूपमा युवा इजरायल जाने संकेत देखिएको छ । पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्जत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरेका थिए ।

उनले विगतमा पनि इजरायल रोजगारीमा पठाउन पटक–पटक प्रयास भए पनि आफ्नो कार्यकालमा सफलता प्राप्त भएको बताए । मन्त्री श्रेष्ठले इजरायल नेपालीका लागि आकर्षक गन्तव्य मुलुक बन्ने जनाए ।बुधबार ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक इजरायल प्रस्थान गरेपछि औपचारिक रूपमा इजरायलमा नेपालीले रोजगारी पाउने बाटो खुलेको छ । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्र्ट कम फस्र्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् ।

वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मंसिरमा ६ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार १ सय ७५ मध्ये ८ सय २१ महिला र ३ सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच १४ असोज २०७७ मा श्रम सम्झौता भएको थियो । इजरायल जाने नेपालीले मासिक करिब दुई लाख रुपैयाँ पारिश्रमिक पाउने छन् । मन्त्री श्रेष्ठले सुरक्षित, पारिश्रमिक तथा सेवा–सुविधाका हिसाबले आकर्षक गन्तव्य मुलुक खोजी गरिरहेको बताए ।

About admin

Check Also

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने …

Leave a Reply

Your email address will not be published.