काठमाडाैँ, माघ १४ । एक महिलालाई सामूहिक करणी गरेको आरोपमा होटल सञ्चालकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।मोरङको सुन्दरहरैंचा नगरपालिका-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली होटलमा ३५ वर्षीय महिलामाथि करणी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका-४ बलिया चोकका होटल सञ्चालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका-३ का २५ वर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन्।
गत माघ ७ गते साँझ पीडित महिला इटहरीबाट बहिनीको घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट बहिनीको घर पुर्याइदिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा लगी करणी गरेको खुल्न आएको छ।
गत माघ ८ गते शनिबार उक्त घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले होटल सञ्चालक अर्जुनकुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।
घटनापछि फरार रहेका रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीलाई भने गत ११ गते इलाम सूर्योदय नगरपालिका-१२ तीनघरेबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनाविरुद्ध करणी मुद्दामा म्याद थपेर अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।
घटना यस्तो थियो !
३० वर्षकी एक महिलाले इटहरीस्थित एक घरमा शुक्रबारदेखि काम गर्न थालिन्। साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै थिइन्। गछिया खोला पुलनजिक ओर्लिएर एक युवकलाई उनले ‘लोकेसन’ सोधिन्। ती युवकले बहिनीको घर पु्र्याइदिने भनी गाडीमा राखेर लगे। तर, झुक्याएर होटलमा पु्र्याई राति तीन जनाले बलात्कार गरेको खुलेको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र प्रत्यक्षदर्शी भनिएकी आरती श्रेष्ठ पक्राउ परेका छन्। झापा घर बताउने रामबहादुर नेपाली फरार छन्। सुन्दरहरैंचा–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजका सञ्चालक हुन् अर्जुन। उनी र आरती भने पीडितलाई लिएर उपचार गर्न शनिबार विराटनगर आएका थिए। त्यही बेला उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मञ्जिल मुकारुङले बताए।
आरती त्यही होटलकी कामदार भएको खुलेको छ। उक्त घटनाबारे बेलैमा प्रहरीलाई जानकारी नदिएको, पीडित र उनका आफन्तलाई दुव्र्यवहार गरेको पाइएको डीएसपी मुकारुङले बताए। ‘होटलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको छ’, मुकारुङले भने, ‘प्रहरीले घटनाका बारेमा शनिबार दिउँसो १ बजेतिर मात्रै थाहा पायो।’