काठमाडौ । बालबालिकालाई एक ठाउँवाट अर्को स्थानमा लैजादा अब जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने भएको छ । बालबालिका सम्बन्धि धेरै घटना सार्वजनिक भएपछि गृह मन्त्रालयले यस्तो नियम लागू गरेको छ । आफ्ना आमा बुवा वा अभिभावक बाहेक अन्य संस्था वा ब्यक्तिले बालबालिकालाई स्थानान्तरण गर्दा प्रशासनको अनुमति लिनुपर्ने भएको हो ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो सूचना जारी गरेको छ । सूचनामा आमा(बुवा र अभिभावकबाहेक अन्य व्यक्ति वा संस्थामार्फत् बालबालिकाहरूलाई नेपालभित्र एक स्थानबाट अर्कोमा लैजानु परेमा सम्बन्धित तहको सिफारिस लिन भनिएको छ। सो सिफारिस जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा मात्रै लैजान पाउने मन्त्रालयले जनाएको छ।
बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाउने, पालनपोषण गरिदिने भन्दै संघ संस्थाको नाममा बालबालिकाहरूलाई लिने र विदेश पठाएर घरेलु कामदारको रूपमा प्रयोग गरेको भन्ने गुनासो तथा उजुरी मन्त्रालयमा परेको थियो। साथै बालबालिकाहरूलाई यौन शोषण गर्नेलगायतका गैरकानुनी क्रियाकलापमासमेत सहभागी गराएको भन्ने उजुरी परेको थियो।
नेपालबाट विदेशमा शैक्षिक प्रयोजनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी पत्र, एनओसी जारी नहुने हकमा स्थानीय प्रशासनको स्वीकृति चाहिने गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै अन्य प्रयोजनको लागि भए महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र सम्बन्धित देशको सरकारी निकायले प्रदान गरेको अनुमति वा स्वीकृति पत्र भएमा मात्र लैजान पाउने व्यवस्था गरेको हो।