Saturday , May 28 2022
Breaking News
Home / समाचार / भोलि बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो । सरकारले बुधबार सार्वजनिक बिदा दिएको हो।

उहाँको अनुसार ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो । त्यसैगरी मकवानपुरको बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै ल्होसारको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने जनाएको छ ।

तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा यहाँका दुई गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

काभ्रेपलाञ्चोकको रोशी तेमाल गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष)का अवसरमा आगामी माघ १८, १९ र २० गते तीन दिन गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, सङ्घसंस्था र बैंक तथा वित्तीय संस्थाहरू तीन दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

तामाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकाले ल्होछारको दिन १९ गते परेकाले सो दिनको एक दिनअघि र एक दिनपछि गरी तीन दिनसम्म सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए। ‘विगत वर्षझैँ यस वर्ष पनि ल्होछारका अवसरमा तीन दिनसम्म पालिकाअन्तर्गत सबै कार्यालयहरू, सम्पूर्ण शैक्षिक संस्थाहरू, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाहरू सो अवधिभर बन्द रहनेछ,’ अध्यक्ष लामाले भने, ‘तामाङ समुदायको बाहुल्य रहेको पालिकाभित्र संविधानले दिएको अधिकारको प्रयोग गरी तीन दिनसम्म सार्वजनिक बिदा दिँदै आएका छौं।’

त्यस्तै तेमाल गाउँपालिकाले पनि ल्होछारका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सलाम सिं लामाले बताए। गाउँपालिकाको माघ १३ गतेको निर्णयअनुसार ल्होछारको अवसरमा तीन दिनसम्म पालिकाअन्तर्गतका सबै कार्यालयहरू, सम्पूर्ण शैक्षिक संस्थाहरू, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाहरू सो अवधिभर बन्द रहने उनले बताए।

यस वर्षको तामाङ समुदायले मनाउने सांस्कृतिक तथा धार्मिक पर्व २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष) आगामी माघ १९ गते परेको छ। तामाङ समुदायले ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मनाउने गरिन्छ। तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ‘ल्होछार’को अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्ष मान्ने गरिन्छ। ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.