काठमाडौं । सिसिएमसीको बैठकले काठमाडौँ उपत्यकाभित्र यातायातमा लागु जोर–बिजोर हटाउन सिफारिस गरेको छ ।
कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज (आइतबार) बसेको बैठकले जोर–बिजोर हटाउन सिफारिस गरेको हो। अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर–बिजोर प्रणाली लागु थियो।
साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए। रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको स्रोतले जनाएको छ।
यसैगरी, केही दिनदेखि नेपालमो कोरोनाको संक्रमणदर घट्दै गएको छ । पछिल्लो २४ घन्टामा १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ५ सय १३ स्वाब परीक्षण गर्दा १ हजार ७ सय १४ संक्रमित थपिएका हुन्।
शुक्रबार ११ हजार ७३ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ५ सय २६ जनामा कोरोना पुष्टि भएको थियो l शनिबार कोरोना संक्रमणबाट नौ जनाले ज्यान गुमाएका छन् ।