नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तिम डिसिजन यही हो भन्दै अडान लिएका छन् । उनले फेरि एक कार्यकाल पार्टी सभापति पदमा लड्न पछि नहट्ने बताएका हुन् । यो निर्णयबाट दायाँ बाँया नहुने देउवाको अडान छ ।
महाधिवेशन आउन तीन साता मात्रै बाँकी रहँदा देउवाले महाधिवेशनको आन्तरिक तयारी सुरू गरेका हुन्। आफू पक्षका नेताहरूलाई बूढानिलकण्ठ बोलाएर देउवाले एकपटक फेरि आफू नै सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरेका छन्।
सोमबार भएको देउवापक्षको आन्तरिक बैठकमा उपसभापति विमलेन्द्र निधि भने गएनन्। निधि सभापति पदमा उठ्ने तयारी गरिरहेका छन्। सभापतिका अर्का आकांक्षी संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ भने देउवाले बोलाएको छलफलमा गएका थिए।
सभापति देउवाले एक कार्यकाल आफू नै सभापति उठ्ने र अर्कोपटक नेताहरूलाई सहयोग गर्ने बताएका थिए। कांग्रेस विधानले नै अर्कोपटक देउवालाई सभापनि बन्न रोक्छ।सभापति देउवा बोलेपछि महामन्त्री पूर्णबहादुर खड्काले कुरा राखेका थिए। उनले पार्टीमा आकांक्षीहरू धेरै हुँदा सबैलाई मिलाएर जानुपर्ने कुरा राखेका थिए।
सभापति देउवाले आफूलाई फेरि सभापति जिताउन सहयोग मागेपछि संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले यसपालि सभापति नउठ्न आग्रह गरेका थिए। ‘तपाईंलाई दुःख परेका बेला मैले सहयोग गरेको थिएँ। निर्विरोध सभापति पनि बनाएको हुँ,’ पुराना कुरा निकाल्दै श्रेष्ठले भनेका थिए, ‘यसपालि सभापति नउठ्नुस्। मलाई सहयोग गर्नुस्।’
श्रेष्ठले सभापति देउवालाई प्रधानमन्त्री भएर काम गर्न आग्रह गरेका थिए। ‘कहिलेकाहीँ छिमेकतिर पनि हेर्नुपर्छ, राम्रा अभ्यास छन् भने सिको गर्नुपर्छ। नरेन्द्र मोदी भारतमा प्रधानमन्त्री छन् उनी पार्टी अध्यक्ष त बनेनन्,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईं प्रधानमन्त्री हुनुस्, काम गर्नुस्। सभापतिमा मलाई समर्थन गर्नुस्।’
तर देउवाले यसपालि आफू नै सभापतिका लागि उठ्ने बताएका थिए। श्रेष्ठले देउवा फेरि सभापतिको उम्मेदवार नहुने हो भने टिमभित्र सर्वसम्मत तवरले अगाडि बढ्न सकिने धारणा पनि राखेका थिए।
आकांक्षी व्यवस्थापन गर्न नसके अर्को टिममा जान सक्ने खतरासमेत देखिएको भन्दै सभापति देउवा पक्षले तारन्तर नेताहरूसँग संवाद अगाडि बढाइरहेको छ। उपसभापति निधि सभापति उठेमा उनले देउवा पक्षका केही प्रभावशाली नेता महामन्त्री पदका लागि लैजान सक्ने चर्चासमेत हुन थालेको छ।
सभापति देउवालाई उनी पक्षका नेताहरूले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ लिन आग्रह गरेका छन्। १३ औं महाधिवेशनमा पनि सिटौलाले सभापतिमा सहयोग गरेको उल्लेख गर्दै उनीहरूले प्रदेशदेखि नै सिटौलालाई साथमा लिएर
जान सक्ने हो भने महाधिवेशन सजिलै जितिने बताएका थिए। सिटौला पनि सभापति उठ्ने तयारी गरिरहेका छन्। उनले महामन्त्रीमा प्रदीप पौडेल लगायतलाई समावेश गरेर सभापति उठ्ने तयारी गरेको स्रोत बताउँछ।