२० मंसिर, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित गेष्टहाउसमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको साविक वनाहा घर भएका ४२ वर्षीय फटुली साह छन् ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले मंसिर १५ मा कोटेश्वरस्थित सुब्बा गेष्ट हाउसबाट १२ वर्षीया र १५ वर्षीया बालिकालाई उद्दार गरेको थियो । ती बालिकालाई माइती नेपालको संरक्षणमा राखिएको छ ।
मकवानपुरबाट दुई बालिकालाई फकाएर ल्याएर शाहले बलात्कार गरेको सुराक पाएपछि प्रहरीले गेष्ट हाउसमा छापा मारेर बालिकालाई उद्दार गरेको हो । बालिकाका आफन्तलाई उनले काठमाडौंमा लगेर ‘पढाउन’ भनेर ल्याएका थिए ।
माइती नेपालले दिएको जाहेरीको आधारमा महानगरीय प्रहरी वृत बानेश्वरले आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । शाह मकवानपुर स्थित पीडितको घरमा गइरहन्थे । त्यहाँबाट बस चढाएर काठमाडौं ल्याएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ ।
यस्तै, महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले कौशल्टारबाट नगदसहित पाँचजनालाई पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका-३ कौशल्टार कमलधारास्थित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१० घर भएका २९ वर्षीय भेष बहादुर भुजेलको टहरमा तास खेलिरहेको अवस्थामा भुजेल लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुको साथबाट ३४ हजार रुपैयाँ र १ बुक तास बरामद गरिएको छ भने उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।