काठमाडौँ । सरकारी कार्यालयहरू, सार्वजनिक स्थल र भिडभाड हुने ठाउँमा कोभिड-१९ विरुद्ध खोप लगाएको प्रणाण देखाउन खोप कार्ड अनिवार्य गरिएसँगै त्यसबारे धेरैमा चासो र चिन्ता व्यक्त भएको पाइएको छ।
कतिपयले खोप कार्ड हराएको तथा केहीले खोप लगाए पनि कार्ड नपाएको अवस्था रहेकाले उनीहरूमा चिन्ता उत्पन्न भएको विवरणहरू पनि आएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले चाहिँ आफ्नो कार्ड सुरक्षित राख्न र विद्युतीय कार्डका लागि दर्ता गराएर खोप लगाएको प्रमाण सधैँका निम्ति सुरक्षित गर्न आग्रह गरेका छन्। उनीहरूका भनाइमा खोपको अतिरिक्त मात्रा लिन पनि त्यस्तो कार्डको आवश्यकता पर्नेछ।
के छ सरकारको निर्णयमा?
कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेको थियो।
सोही सिफारिसअनुसार सबैजसो सरकारी निकायहरूले यही माघ पहिलो सातादेखि खोप कार्डबिना प्रवेश निषेध गर्ने व्यवस्था कार्यान्वयन गर्ने व्यवस्था गरेका छन्।
भिडभाड बढी हुने रेस्टुराँ, सिनेमाहल, रङ्गशालाजस्ता स्थानमा पनि त्यस्तै व्यवस्था गर्न सम्बन्धित सरकारी निकायहरूले निर्देशन दिइसकेका छन्। अब सरकारी कार्यालयसहित होटल, रेस्टुराँ, हल, रङ्गशाला, पार्क लगायतमा प्रवेशका लागि माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य हुनेछ।
कार्ड हराएका र नपाएका व्यक्तिले के गर्ने?
हालैका दिनमा खोप कार्ड हराएका व्यक्तिहरूले खोप कार्ड नै बनाउनका लागि आफूले एक पटक पनि खोप नपाएको भन्दै थप मात्रा खोप लिएको भेटिएको विवरण पनि आएका थिए।
तर अधिकारीहरूले खोप कार्ड हराएका र केही स्थानमा पहिले कार्ड सकिएकाले पाउन नसकेका व्यक्तिहरूले सहजै त्यस्तो कार्ड पाउने बताएका छन्।
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार त्यस्ता व्यक्तिहरूले आफूले खोप लिएकै स्थानबाट कार्ड प्राप्त गर्न सक्नेछन्। अन्यत्रबाट कार्ड लिन खोज्दा यकिन विवरण नहुने भएकाले आफूले खोप लगाएकै स्थानमा जान दाहाल आग्रह गर्छन्।
उनले भने, “पहिला खोप कार्ड नभएर केही स्थानमा खोप लगाउनेहरूले पनि कार्ड नपाएको कुरा साँचो हो। तर अहिले कार्ड नपाउने भन्ने अवस्था छैन।”
“खोप लगाइसकेका व्यक्तिले कार्ड बनाउन चाहन्छन् भन्ने खोप लिएकै स्थानमा जाँदा कार्ड बनिहाल्छ। जान चाहिँ त्यही स्थानमा जानुपर्यो किनकि विवरण त त्यहीँ छ।” उनले कार्ड हराउने व्यक्तिका हकमा पनि सोही नियम लागु हुने जानकारी दिए।